काठमाडौँ । नेपालको कर्मचारीतन्त्रमाथि बेला बेला प्रश्न उठ्दै आएको छ । सेवाप्रवाहको विषयमा कर्मचारी र राजनीतिज्ञबीच बेलाबखत आरोप–प्रत्यारोप पनि चल्ने गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको ६ महिना पूरा हुन लाग्दा चित्त बुझ्दो काम हुन नसकेको स्वयं मन्त्री र सत्तारुढ दलबाटै गुनासो आइरहेको छ ।
केही दिनअघि सचिवहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले निर्धक्क भएर काम गर्न निर्देशन पनि दिए । राजनीतिज्ञ कर्मचारीले काम नगरेको भन्ने गर्छन् भने कर्मचारीले आफूहरुलाई मात्र मुद्दा चलाएर मन्त्रीलाई जोगाउने कार्यशैलीले काम गर्न नसकिएको बताउँछन् ।
यही सेरोफेरोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा कर्मचारी नभेटिएको भन्दै तालुक मन्त्रालय र सतर्कता केन्द्रलाई कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तत्काल कर्मचारी व्यवस्थापन मिलाउन निर्देशन दिएको हो । कर्मचारी व्यवस्थापनको अनुगमन गरेर रिपोर्ट गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पनि निर्देशन दिएको छ ।
कार्यालय समयमा कर्मचारी नभेटिने, कतै दरबन्दीभन्दा बढी कर्मचारी हुने, कतै दरबन्दीअनुसार कर्मचारी नहुनेजस्ता समस्याले सेवाप्रवाह चुस्त हुन नसकेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री कार्यालयले कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल कर्मचारी व्यवस्थापन गरेर काममा लगाउन निर्देशन दिइएको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगिसकेको छ ।