Odapalika - The Fourth Estate - चौथो अंग
२५० पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत, बद्‌मासी हेर्न सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन 

काठमाडौँ । देशभर ७५३ स्थानीय तह छन् । तर, २५० भन्दा बढी निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या मात्र होइन गुणस्तरीयतामा कमी र अनियमितताको सम्भवना पनि बढेर गएको छ । जसले गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल कर्मचारी व्यवस्थापन/पदस्थापना गर्न तालुक मन्त्रालयलाई निर्देशन दिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दीअनुसार कर्मचारी खटाउन नसक्दा २५० भन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । ‘२५० भन्दा बढी स्थानीय तह नित्तिम प्रमुख प्रशासकीय अधिकृतको भरमा छन्,’ संघीय मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिए । 

महानगर र उपमहानगरपालिकामा सहसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । तर, उक्त व्यवस्थाअनुसार कर्मचारीको व्यवस्थापन नहुँदा ६ महानगरपालिकामध्ये वीरगञ्ज महानगरमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । साथै ११ उपमहानगरपालिकामध्ये १० वटामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छन् । १३३ वटा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका प्रवक्ता पराजुलीले जानकारी दिए । उनका अनुसार १०६ भन्दा बढी गाउँपालिका पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चासो

जनताले सबैभन्दा नजिकबाट सेवा पाउने स्थानीय तहका प्रशासन नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै चासो देखाएका छन् । केही दिनअघि सचिवहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले निर्धक्क भएर काम गर्न निर्देशन पनि दिए । 

यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दरबन्दीअनुसार कर्मचारीको व्यवस्थापन/पदस्थापना गर्न निर्देशन दिएको छ । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कर्मचारी व्यवस्थापन/पदस्थापन गर्न निर्देशन आएको छ,’ संघीय मामिला मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले वडापालिकालाई बताए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्काल कर्मचारी व्यवस्थापन मिलाउन निर्देशन दिएको हो । संघीय मामिला मन्त्रालयले गर्ने कर्मचारी व्यवस्थापन/पदस्थापनामा निगरानी राखेर रिपोर्ट गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्यालयले निर्देशनसमेत दिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update