काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध सहकारीको रकम ठगी अभियोगमा मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रमा उनलाई पनि प्रतिवादी बनाइएको छ ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम गठीको अभियोगपत्रमा उनलाई फरार प्रतिवादी कायम गरिएको हो । एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित बराल स्वर्णलक्ष्मीको पूर्व सञ्चालक समिति सदस्य हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको अभियोगमा बराल, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
यही पुस १८ गते जिल्ला प्रहरी परिसर काठमाडौंले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । सोही आधारमा आइतबार उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
अभियोगपत्रमा ३९ प्रतिवादीसँग कुल २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।