काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् ।
सोमबार पत्राचार गर्दै उनले २१ वर्षअघिदेखि धरान विमानस्थल बनाउने भनेर जनतालाई ढाँटेको भन्दै अब हेलिप्याड बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
धरानमा विमानस्थल बनाउने भनेर २०६० सालदेखि ढाँटेको भन्दै उनले संविधानका कुनै पनि धाराले जनतालाई झुटो आश्वासन दिएर ठग्न पाइन्छ भनेर नलेखेको व्यंग्य गरेका छन् । धरानमा विमानस्थल बनाउन आफूले दिएको निवेदनलाई रद्दीको टोकडीमा फ्यालेर एक पैसा पनि बजेट विनियोजन नगरेको भन्दै मेयर हर्कले पत्रमा उल्लेख गरेका छन्, ‘...स्थानीयहरुलाई दुःख दिन पाइँदैन । संविधानको कुनै पनि धारामा जनतालाई झुटो आश्वासन दिएर ठग्न पाइँन्छ भनेर लेखिएको छैन । अब हामी एउटा हेलिप्याड भए पनि बनाउने सोचमा छौँ । सहयोग गर्नु होला । हेलिकप्टर चढेर यात्रा गर्न पाऊँ, जनतालाई यात्रा गराउन पाऊँ भनी कोटीकोटी निवेदन गर्न चाहन्छु । लौ न सहयोग गर्नु परो ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यति इन्कर्पोरेट प्रा.लि.लाई बोधार्थ बनाएर मेयर हर्कले मन्त्रालयलाई लेखेको पत्र
‘...१२४ वर्ष पुरानो पूर्वी नेपालको सबै भन्दा जेठो सहर धरानलाई केन्द्रले हेर्ने दृष्टीकोण बदल्न जरुरी छ । राई, लिम्बू र लाहुरे समुदायको बाहुल्य रहेकोले हो कि किन हो केन्द्रले धरानलाई अलि विभेद गरेको हो कि जस्तो लाग्छ । धरानमा एयरपोर्ट बनाउने हल्ला चलाएर स्थानीयहरुको घरजग्गा सस्तो सस्तोमा लिएर यति इन्कर्पोरेटको नाममा ७ बिघा भन्दा बढी जग्गा खरिद गरेर २०६० साल तिरै स्थानीयलाई आश्वासन दिइयो । २१ बर्ष भयो धराने जनताले एयरपोर्ट पर्खेर बसेको । राज्यले विभिन्न समयमा अध्ययनको नाममा राज्यकोष खर्चेको इतिहास लुक्दैन तर १–२ वर्ष अघिदेखि त्यो जग्गा बेचिखन चाहेको जस्तो देखिन्छ । प्लटिङ गर्ने भन्ने कुरा नि सुनिन्छ । राष्ट्रिय बजेट बन्दा यो बिषयमा पनि निवेदन लिएर म आएको थें । तर, निवेदन रद्दीको टोकडीमा फालियो होला एक पैसा पनि छुट्याइएन यो विषयमा, यसरी स्थानीयहरुलाई दुःख दिन पाइँदैन । संविधानको कुनै पनि धारामा जनतालाई झुटो आश्वासन दिएर ठग्न पाइँन्छ भनेर लेखिएको छैन । अब हामी एउटा हेलिप्याड भए पनि बनाउने सोचमा छौँ । सहयोग गर्नु होला । हेलिकप्टर चढेर यात्रा गर्न पाऊँ जनतालाई यात्रा गराउन पाऊँ भनी कोटीकोटी निवेदन गर्न चाहन्छु ! लौ न सहयोग गर्नु परो ।’