काठमाडौँ । सरकारले असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माणमा बेवास्था गरेको छ । क्षति भएको तीन महिना बितिसक्दा पनि राजमार्ग पुनर्निर्माणका लागि सरकारले बजेटको व्यवस्थापन गर्न अझै सकेको छैन । पुनर्निर्माणका लागि खाका तयार पारेको सरकारले बजेट व्यवस्थापन भने गर्न नसकेको हो ।
गत असोज दोस्रो साता आएको बाढीपहिरोले बीपी राजमार्गको करिब १२ किलोमिटर खण्ड क्षतिग्रस्त बनेको छ । तत्कालका लागि अहिले डाईभर्सन गरेर अस्थायी रुपमा सडकलाई सञ्चालनमा ल्याइएको छ । तर, हिउँदयाममै पुनर्निर्माण गर्न सकिने भने आउँदो बर्खायाममा भने सो राजमार्गमा सवारीसाधनको आवागमन रोकिने छ । तर, सरकारले पुनर्निर्माणका लागि बजेट व्यवस्थापन गरेर काम अघि बढाउन सकेको छैन ।
उक्त सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड लागत हुने अनुमान गरिएको छ । बाढीपछि गरिएको एक अध्ययनअनुसार पुनर्निर्माणमा बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न ९ अर्ब ६६ करोडभन्दा धेरै रकम लाग्न सक्ने सडक डिभिजन कार्यालय भक्तपुर जगातीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार सडकमा तीन किसिमका पर्खाल (आरसीसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिने उनले बताए ।
राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो । पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूतसँग छलफल समेत गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाईकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको जनाएको भए पनि मन्त्रालय जाईकाको जवाफको पर्खाइमा रहेको छ ।
पुनर्निर्माण नहुँदा यात्रुले डाईभर्सन गरिएको बाटो हुँदै जोखिमपूर्ण र कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । सडक पुनर्निर्माण गर्न कम्तिमा पनि दुई वर्ष लाग्ने प्रक्षेपण गरिएको छ । बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त बनेको छ ।
मन्त्रालयले विभिन्न अध्यन्न गरे पनि जाईकाको बाटो सरकारले हेरिरहँदा सडक पुनर्निर्माणमा ढिलाइ भइरहेको छ । पुनर्निर्माण नहुँदा उक्त सडकखण्डका स्थानीयवासी तथा सोही सडक प्रयोग गरेर पूर्वी नेपालको यात्रा गर्ने हजारौँ यात्रुले दैनिक सास्ती व्यहोर्न बाध्य छन् । तत्काल सरकारले आन्तरिक होस् वा वाह्य स्रोत जुटाएर भए पनि सडक पुनर्निर्माण गर्नुपर्ने आवाज उठ्दै आएको छ ।