काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नजिता सार्वजनिक गर्न पत्राचार गरेको छ ।
मनत्रालयले आज एक सूचना जारी गर्दै पुस मसान्तभित्र आर्थिक वर्ष २०८०/०८१ को लिजाको प्रतिवेदन सार्वजनिक गर्न भनेको हो ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जगाउन संस्थागत क्षमता स्वमूल्यांकन गराइदै आएको छ ।
यो स्थानीय तह आफैँले आफैँलाई मापन गर्ने विधि हो । स्थानीय तहले आफुले आफैँलाई दिएको अंकलाई मन्त्रालयले गुणस्तर परीक्षण गरेपछि उत्कृष्ट घोषणा गर्ने प्रचलन छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरेको थियो ।
अघिल्लो वर्ष धादिङको निलकण्ठ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिका, धादिङको बेनीघाट रोराङ, गुल्मीको रुरुक्षेत्र र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका उत्कृष्ट बन्दै पुरस्कृत भएका थिए ।