काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्रका आधारमा भुक्तानी दिएको अभियोगमा प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार कृषिसम्बन्धी अनुदान अनियमितता गरेको अभियोगमा मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालिन सचिव डा.नम्रता सिंहसहित कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमका संयोजक शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, अविनास कुमार झा, सहलेखापाल ब्रजेश कुमार साह, पशु चिकित्सक रंजित कुमार अधिकारी र मधेस प्रदेशका कृषि अर्थविद् विकास कुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो । डा.सिंह हाल लुम्बिनी प्रदेशको कृषि मन्त्रालयकी बहालवाला सचिव छिन्।
त्यस्तै, सरकारसँग अनुदान लिने महोत्तरीको युवरानी मत्स्य तथा कृषि फार्मका सञ्चालक लक्ष्मी नारायण यादवविरुद्ध पनि मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए ।
कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमअन्र्तगत सो फर्मलाई गैरकानुनी रुपमा छनोट गरिएको र सम्झौताअनुसार काम नै नभई नक्कली कागजपत्रका आधारमा एक करोड रुपैयाँ भुक्तानी दिएको अख्तियारको दाबी छ । अख्तियारले अभियोगपत्रमा उनीहरुसँग एक करोड नै बिगो मागदाबी गरेको छ ।