Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहसँग शिक्षा योजना र कोर्ष हुनुपर्ने, कार्यदलबाट ईसीडीको समस्या समाधान गरिँदै

काठमाडौँ । संघीय सरकारले प्रारम्भिक बाल विकास (ईसीडी)को समस्या समाधान गर्न कार्यदल बनाएर काम गरिरहेको छ । सामुदायिक विद्यालयलाई सुधार्दै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानमा केन्द्र सरकार लागेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् । 

ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग राखेर काठमाडौँको माइतीघरमा उभिएर आन्दोलन गरिरहेका नेत्र चापागाईंलाई भेट्ने जानेक्रममा मन्त्री भट्टराईले ईसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाएर काम गरिरहेको जानकारी  दिएकी हुन् । 

सबै स्थानीय तहसँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने भन्दै उनले   दरबन्दीबारे पनि पुनरावलोकन भइरहेको बताइन् । गत असार ३१ गते बनेको केपी शर्मा ओली सरकारमा शिक्षा मन्त्री भएकी भट्टराईले आफूले जिम्मेवारी लिँदा बजेट आइसकेकाले आफ्नो योजना समेट्न नपाएको बताइन् । 

स्थानीय तहको शिक्षा योजनाविना नै सांसदहरु फाइल लिएर हिँड्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएकी उनले आवश्यक नरहेको कार्यक्रमलाई विपपदमा लैजान सकिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा लगेको जानकारी दिइन् ।

मन्त्री भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै शिक्षा सुधारका लागि भन्दै माइतीघरमण्डलामा उभिएर आन्दोलन गरिरहेका नेत्र चापागाईंले साेमबार आन्दोलन स्थगित गरिसकेका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update