
काठमाडौँ । चीनको दिंगीलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पको असर नेपालमा पनि देखिएको छ ।
दिंगीलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सो भूकम्पले तिब्बतमा ठूलो धनजनको क्षतिका विवरण आइरहँदा नेपालमा पनि मानिसमा असर गरेका खबर आएका छन् ।
भूकम्पका कारण बारामा ११ विद्यार्थी बेहोस भएका छन् भने काठमाडौंमा छतबाट हाम फाल्ने एक व्यक्ति घाइते भएका छन् । कलैया उपमहानगरपालिका–१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका हुन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था अहिले सामान्य छ ।
यता काठमाडौंको स्युचाटारमा छतबाट हाम फाल्दा घाइते भएका एक व्यक्तिको अहिले मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहानको भूकम्पबाट नेपालमा भएको क्षतिका विवरण हालसम्म आइसकेको छैन ।