काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसाथ गर्ने क्रममा पार्टीले गम्भीर कमजोरी गरेको स्वीकार गरको छन् ।
पार्टीको जारी केन्द्रीय समितिमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसाथ गर्न नसक्नु र सांसकृतिक रुपान्तरणमा जोड दिन नसक्नु कमजोरी भएको उल्लेख गरेका छन् ।
‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह भनेको स्थानीय सरकार नै हो । गतकालमा हाम्रो पार्टीले स्थानीय सरकारको रणनैतिक महत्वलाई आत्मसात् गरेर उत्पादनका निमित्र् संघर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रूपान्तरणमा पर्याप्त जोड दिन सकेन । पार्टी कार्यदिशा कार्यान्वयनका सन्दर्भमा यो एउटा गम्भीर कमजोरी नै हो,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ । उनले प्रतिवेदनमा पार्टीको नेतृत्वमा रहेका स्थानीय सरकारलाई प्रभावकारी, परिणाममुखी र नमुनायोग्य बनाएर मात्रै समाजवादको आधार निर्माणको कामलाई गति दिन सकिने उल्लेख गरेका छन् ।
‘बदलिएको राजनीतिक परिस्थिति र विगतको आत्मसमीक्षासहित पार्टीको ध्यान अब स्थानीय तहमा रहेका १२३ सरकार (माओवादीले नेतृत्वमा जितेका)लाई प्रभावकारी बनाउने तथा अन्य स्थानीय तहमा आगामी निर्वाचनमा विजय गर्ने लक्ष्यसहित संगठन र जनसम्बन्ध सुदृढ गर्न जोड लगाउनैपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।
स्थानीय तहलाई सुदृढ गरेर मात्र प्रदेश र संघको निर्वाचनमा विजयको आधार बन्ने तथ्यलाई आत्मसात् गर्न ढिलो गरियो भने यो पार्टी र आन्दोलनका लागि ठुलो क्षति हुने भन्दै नेता कार्यकर्तालाई उनले वास्तविकतालाई मनन गरेर विज्ञहरूको अध्ययन र सुझावलाई समेत ध्यान दिएर रणनीति कार्यान्वयनमा लाग्न प्रस्ताव गरेका छन् ।