Odapalika - The Fourth Estate - चौथो अंग
प्रादेशिक निजामती सेवा ऐनविरुद्ध लेखा समूहका कर्मचारी आन्दोलनमा, माग पूरा नभए ‘पेन डाउन’ गर्ने चेतावनी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्रादेशिक निजामती सेवा ऐन र नियमवालीको व्यवस्थाले आफहरूको वृत्तिविकासमा रोकिने भन्दै लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरुको वित्तृविकास सुनिश्चित हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका उनीहरुले प्रशासन सेवाको बढुवामा आफूहरुले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् ।

वित्तृविकास सुनिश्चितताको माग गर्दै लेखा समूहका कर्मचारीले मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा तथा प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । 

नवौँ तहमा लेखा समूहमा एउटामात्र दरबन्दी रहेको र प्रशासन सेवामा प्रतिस्पर्धा गर्नबाट ऐनले रोकेकाले आफूहरु अधिकृतभन्दा माथि जान नसक्ने भन्दै ऐन र नियमावलीविरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

प्रदेशमा लेखा समूहको नवौँ तहमा एकजना प्रदेश लेखा नियन्त्रक र सामान्य प्रशासन समूहमा २७ जनाको दरबन्दी छ । त्र, ऐनमा विभेद गरिँदा लेखातर्फ प्रदेश सरकार मातहत कार्यरत करिब १९१ कर्मचारीको वित्तृविकास रोकिएको आन्दोलनरत कर्मचारीको भनाइ छ । प्रदेश निजामती ऐनको मस्यौदा निर्माणदेखि नै लेखाका कर्मचारीले विरोध जनाएका थिए । 

तर, अब पनि आफूहरुको माग पूरा नभए पेन डाउन गरेरै आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ । धनगढीमा बसेका लेखातर्फका कर्मचारीको बैठकले सरकारले आफूहरुको माग सुनुवाइ नगरे पेन डाउन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update