Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पको परकम्प आउन सक्ने भन्दै सरकारले गरायो स्थानीय प्रशासन र प्रहरीलाई हाई अलर्ट

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पका परकम्प आइरहेको र आउन सक्ने भन्दै स्थानीय प्रशासन र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 

चीनको दिंगीलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको परकम्प आइरहेको र थप आउन सक्ने भन्दै प्राधिकरणले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन भएको छ ।

साथै सबै नागरिकलाई चनाखो रहने र कुनै खालको क्षति भएमा स्थानीय सरकार र प्रहरीलाई जानकारी गराउन पनि प्राधिकरण आग्रह गरेको छ । 

‘भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन भएको छ । त्यस्तै सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौँ,’ प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनका अनुसार मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन । भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएको र  क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको उनले जानकारी दिए । 

तर, चीनमा ठूलो धनजनको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जारी गरेको विज्ञप्ति :

छिमेकी मित्रराष्ट्र चीनको तिब्बत (सिजाङ) स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७.० म्याग्नेच्युडको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको छ । नेपालको स्थानीय समय अनुसार आज बिहान ६ः५० बजे गएको भूकम्पबाट नेपालका उत्तरपूर्वी तथा मध्य क्षेत्रमा कम्पन महशुस गरिएको थियो ।

उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन । भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका छन् । क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको छ ।

उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन भएको छ । त्यस्तै सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौं ।

आजको यो भूकम्पबाट तिब्बत (सिजाङ) स्वशासित क्षेत्रमा केही व्यक्तिको मृत्यु भएको र केही घाइते भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । यो विपद्मा परी मृत्यु भएका चिनियाँ नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

डा. डिजन भट्टराई
प्रवक्ता

notice-bhukampa-1736244155.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update