काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने भएको छ ।
किसानको लागत कम गराई कषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन र किसानलाई राहत पुर्याउन किसानको कृषि सम्बन्धी विद्यु्तको महसुल गाउँपालिकाले व्यहोर्ने कार्यक्रम ल्याइएको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
‘छिन्नमस्ता गाउँपालिकाले किसानहरूको हितमा ऐतिहासिक निर्णय गर्दै, अब कृषिसम्बन्धी विद्युतको बिल पालिकाले बजेट विनियोजन गरी व्यहोर्ने भएका छौं। यस निर्णयले किसानहरूको आर्थिक भार घटाउने मात्र होइन, कृषि व्यवसायमा आत्मनिर्भरता र उत्पादनशीलता बढाउन पनि महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएका छैं,’ अध्यक्ष चौधरीले भने ।
नेपाल कृषिप्रधान देश भएकोले कृषि क्षेत्रलाई थप मजबुद बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।
‘नेपाल कृषिप्रधान देश हो र छिन्नमस्ता गाउँपालिकाले यसलाई थप मजबुत बनाउन किसानमैत्री उदाहरणीय कदमहरू उठाउँदै आएको छ। किसानहरूका लागि माग बमोजिम मलखादको सहज आपूर्ति सुनिश्चित गर्न पहल गरिनुका साथै सिँचाइ सुविधाको विस्तारमा विशेष ध्यान दिइएका छौं,’ अध्यक्ष चौधरील ेभने ।
उनले सामाजिक र आर्थिक रूपमा पिछडिएका वर्गहरू, विशेषगरी महिलाहरूलाई सामूहिक कृषि व्यवसायमा सक्रिय गराउन समूह निर्माण गरी निःशुल्क बिउ बिजन वितरण जस्ता विभिन्न प्रेरणात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आएका पनि जानकारी दिए ।
गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा एक चौरी, एक मिटर योजना कार्यान्वयन गर्दैछ । यो योजनाले सिँचाइका लागि विद्युतीय ऊर्जा उपयोगलाई सहज बनाउँदै किसानहरूको व्यक्तिगत मिटर खरिद गर्दा हुने आर्थिक भारलाई अन्त्य गर्ने र कृषि विद्युतको महसुल पनि पूर्णरूपमा पालिकाले व्यहोर्ने अध्यक्ष चौधरीले जानकारी दिए । यसले विद्युतीय चोरी जस्ता समस्याबाट पनि उन्मुक्ति दिलाउने विश्वास गाउँपालिकाको छ । कृषिमा ऊर्जा पहुँचले उत्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।
के–के चाहिन्छ कागजात ?
किसानलाई कषिमा लागेको विद्युत महसुल तिरिदिन गाउँपालिकाले ५ प्रकारका कागजात पेश गर्न पनि भनेको छ । गाउँपालिकाका अनुसार सिंचाई विद्युत मिटर दर्ताको निवेदन, कृषकले २०८१ पुस मसान्तसम्म सिंचाई विद्युत महसुल तिरेको विल, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी र २०८१ पुस मसान्तसम्मको सिंचाई मिटर रिडिङको विल उपलब्ध गराउनु पर्नेछ ।