
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालको आर्थिक बृद्धिदर ३.४ प्रतिशत मात्रै भएको छ ।
दशैं, तिहार जस्ता ठूला चाडपर्व पर्ने यो पहिलो ३ महिनाको बृद्धिदर सरकारको वार्षिक लक्ष्यभन्दा कम हो । सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरेको हो । कार्यालयले मंगलबार चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गर्दै वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरेको हो ।
गत आव अन्तिम चौमासको तुलनामा भने आर्थिक बृद्धिदर केही बढेको पाइएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा अर्थतन्त्र ०.२ प्रतिशतले विस्तार हुने अनुमान छ ।
मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा आधारभूत मुल्यको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन करिब करिब बराबर रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ ।
चालु आवको प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो । यद्यपी, विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान कार्यालयको छ ।
पहिलो त्रैमासमा सबैभन्दा उच्च दरले वृद्धि भएको क्षेत्र विद्युत् र ग्यास रहेको छ । कार्यालयका अनुसार यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ । दोस्रो स्थानमा यातायात र गोदाम रहेको छ ।
कार्यालयले आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको दर ५.७ प्रतिशत, प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४, वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान गरेको छ ।
यस्तै, थोक तथा खुद्रा व्यापार ०.५ प्रतिशत, औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, शिक्षा ०.४ प्रतिशत, स्वास्थ्य ४.१ प्रतिशत, घरजग्गा कारोबारमा ३.१ प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशतमात्र रहने अनुमान छ ।
यस्तै,पहिलो त्रैमासमा निर्माण क्षेत्र ०.६ प्रतिशतले ऋणात्मक हुने कार्यालयको अनुमान छ ।