काठमाडौँ । नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनले एमाले सहरी जनमतमाझ अलोकप्रिय बन्दै गएको निष्कर्ष निकालेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा एमालेले सहरमा आफ्नाे जनमतमा कमजोर बन्दै गएको स्वीकार गरिएको छ भने केन्द्रीय कमिटी बैठकले उनको यो प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
एमालेले यसैवर्ष सम्पन्न भएका २ वटा उपनिर्वाचनमा एमालेको जति र हारको विषयमा समीक्षा गर्दै सहरी जनतामा एमालेप्रति निराशा देखिनु चिन्ताको विषय भनेको छ ।
गत २०८१ वैशाख १५ मा इलाम–२ र बझाङ प्रदेशसभा–१ मा उपनिर्वाचन भएको थियो । एमालेले दुवै स्थानमा जितेको थियो । राष्ट्रिय राजनीतिमा व्याप्त प्रतिकूलताकबीचको यो सफलताले पार्टी पङ्क्तिको मनोबल माथि उठाउन निकै मद्दत गरेको एमालेको ठहर छ ।
तर गत १६ मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनमा भने एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडा अध्यक्ष सहित ८ स्थान मा जीत हासिल गर्यो ।
‘हामीले जितेका ७ वटा वडा रिक्त भएको अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत समग्रमा ८ स्थानमा हासिल गरेको विजय थप हाम्रा लागि उपलव्धिपूर्ण र सकारात्मक परिणाम हो । यद्यपि, हामीले गरेको अपेक्षाभन्दा यो कम हो । विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ), कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गंभीरतापूर्वक लिनु पर्छ,’ केन्द्रीय कमिटीले पारित गरेको राजनीतिक दस्तावेजमा भनिएको छ ।
७७ जिल्ला समन्वय समिति र ७५३ पालिकाका कुल ८,४०३ जनप्रतिनिधिमध्ये ४४ पदमा भएको र कुल २,२६,७९९ मतदाता (१.२६ प्रतिशत) ले मतदान गरेको यो निर्वाचनले राजनीतिक शक्ति सन्तुलन र भविष्यको निर्वाचनको ठूलो पूर्वानुमान नगर्ने भन्दै एमालेले निर्वाचन परिणामा चित्त बुझाएको छ ।
‘तर पनि २०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ । आफूले विजय हासिल गरेका ठाउँमा पार्टी र जनप्रतिनिधिहरुले थप मिहिनेत गर्नुपर्ने र सहरिया मतदातामाझ नेकपा (एमाले) ले अझै मेहनत गर्नु पर्ने शिक्षा यस निर्वाचनबाट प्राप्त भएको छ,’ पारित दस्तावेजमा भनिएको छ ।