Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी केन्द्रले तत्काल स्थानीय तहका प्रमुख र उपप्रमुखसँग छलफल गर्ने 

काठमाडौँ । नेकपा माओवादीले स्थानीय तहका प्रमुख र उपप्रमुखसँग तत्काल छलफल गर्ने भएको छ । आइतबदेखि तीन दिन चलेको केन्द्रीय समिति बैठकले पारित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा तत्काल माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखसँग छलफल गर्नुपर्ने उल्लेख छ । 

‘हाम्रो पार्टीको तर्फबाट निर्वाचित पालिका प्रमुख/अध्यक्ष र  उपप्रमुख/उपाध्यक्षहरूको छलफल र अन्तक्र्रिया कार्यक्रम पुनः एक पटक तत्कालै आयोजना गर्नु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ । मंगलबार १६ वटा प्रस्ताव पारित गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ ।

देशभर ७५३ स्थानीय तह छन् । माओवादी केन्द्रले १२३ स्थानीय सरकारको नेतृत्व लिएको छ । माओवादी नेतृत्वदायी भूमिका नरहेका ६३० स्थानीय तहमा छायाँ सरकार बनाउने प्रतिवेदनमा उल्लेख छ । 

‘संघीय र प्रादेशिक सरकारबाट बाहिरिएपछि हाम्रो पार्टीसँग उपचुनावमा विजयी बनेको मोरङको ग्रामथानसमेत १२३ स्थानीय सरकारको नेतृत्व रहेको छ । त्यसबाहेक कतिपयमा उपाध्यक्ष वा उपप्रमुख सहित हाम्रो बहुमत छ भने कतिपयमा हाम्रा केही प्रतिनिधिहरू छन् । हाम्रो नेतृत्व वा कुनै एक पदाधिकारीसहित बहुमत नभएको स्थानमा वा हामी अत्यन्त कम संख्यामा निर्वाचित भएको वा निर्वाचित नै हुन नसकेको स्थानमा पनि हाम्रो योजनाबद्ध भूमिका रहनुपर्छ । त्यहाँ अर्को ५ वर्ष सम्मको लागि हेरेर र कुरेर बस्नु हाम्रो कर्तव्य हुन सक्दैन,’ प्रचण्डको पारित राजनीति प्रतिवेदनमा उल्लेख छ, ‘त्यस्ता पालिकाहरूमा स्थानीय पार्टीले छायाँ सरकारको अवधारणाअन्तर्गत योजनाबद्ध रूपमा जनतासँग जोडिएका जनसेवा, सुधार र विकासका कामहरू गर्नुपर्छ ।’ 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update