
महोत्तरी । महोत्तरीका पाँच स्थानीय तहले चिसो बढेको भन्दै विद्यालय बन्द गरेका छन् । केही दिनयता बढेको चिसोका कारण जलेश्वर नग्पालिका, मनरासिस्वा नगरपालिका, पिपरा गाउँपालिका, सोनमा गाउँपालिका र एकडारा गाउँपालिकाले बुधबारदेखि लागु हुनेगरी एक साताका लागि शिक्षण संस्था बन्द गरेका हुन् ।
जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले बुधबारदेखि लागु हुनेगरी यही पुस २९ गतेसम्म र एकडारा गाउँपालिकाले आउँदो माघ १ गतेसम्मका लागि विद्यालय बन्द गरेका छन् ।
साना बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेपछि १० नगरपालिका र पाँच गाउँपालिका रहेका महोत्तरीका पाँचवटा पालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द भएको जनाएका छन् ।
तराई मधेसमा विगत दुई–तीन दिनदेखि एक्कासि शीतलहर र चिसो हावा चल्न थालेपछि कठ्याङ्ग्रिदो र असहनीय जाडो भएर जनजीवन प्रभावित बनेको छ । असहनीय जाडोका कारण स–साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।