
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरेकी छन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बाससँगको भेटमा मन्त्री राणाले विपीनको रिहाइका लागि आग्रह गरेकी हुन् । राजदूत बासमार्फत इजराली सरकारसँग उनले विपीनको रिहाइका लागि विशेष प्राथमिकतामा राख्न आग्रह गरेकी हुन् ।
मन्त्री राणाले विपीनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरिन् ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेका बेला मन्त्री राणाले राजदूत बाससँग भेटेर विपीनको रिहाइका लागि पहल गरेकी हुन् । हमासले ३४ जनालाई मुक्त गर्न लागेको खबरबारे मन्त्री राणाले राजदूतसँग जानकारी पनि लिइन् ।
जवाफमा राजूत बासले इजरायलको पठाएको सूचीअनुसार हमासले पहिलो चरणमा ३४ जनालाई रिहा गर्न लागेको बताए । हमासको नियन्त्रणमा रहेका बृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको राजदूत बासको भनाइ छ ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या र केही व्यक्तिलाई अपहरण गरी लगेको थियो ।