काभ्रे । काभ्रेमा १३ स्थानीय तहमा छन् । यी स्थानीय तहमा पछिल्लो चार वर्षमा ७३६ वटा महिला तथा घरेलु हिंसाका घटना भएका छन् । साथै गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको ९ महिनासम्ममा १९२ जनाले आत्महत्या गरेका छन् ।
गत कात्तिक १६ गते अपराह्न ४ः१५ बजेको समयमा ६९ वर्षीया माइली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसन्धानले पुष्टि गरेको छ । आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद लिनका लागि फुर्साङले आमाको हत्या गरेको स्वीकार गरे । उनकै बयानका आधारमा प्रहरीले आमाको हत्या गरेर लिएको नगद र सुनका गहनासमेत उनले भनेकै स्थानबाट बरामद गरेको थियो।
गत मंसिर ३० गते मन्ड्नदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङटोल बसोबास गर्ने ५२ वर्षीय तिनमाया तामाङ मझेरीमै मृत अवस्थामा फेला परिन् । केही दिनको अनुसन्धानपछि प्रहरीले पुस ५ गते मृतक तिनामायाकै ज्वाइँ वर्ष २८ को सुकबहादुर तामाङलाई पक्राउ गरेको थियो । मृतक तिनमाया तामाङले सधैँ काम नगरी बसेको भन्दै गाली गरिन् । त्यसपछि ज्वाइँले घरकै थाममा सासु तिनमायाको टाउको ठोकाएर हत्या गरे । अहिले सुकबहादुर काभ्रे कारागारमा छन्।
काभ्रेमा भएका पछिल्ला घरेलु हिंसाका यी दुई घटना भए उदाहरणका रुपमा लिइए पनि पछिल्ला ४ वर्षमा ७३६ वटा घटना भएको काभ्रे प्रहरीको तथ्याङ्गले देखाएको छ । काभ्रे प्रहरीको तथ्याङ्कअनुसार आव ०७८/७९ मा २७६ , ०७९/८० मा १८६, २०८०/०८१ मा १८३, चालु आवको ९ महिनामा मात्र ९१ घटना भइसकेका छन् । घरेलु हिंसाका घटना हुनुको कारण आर्थिक, सामाजिक र चेतना स्तर नै रहेको काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का बताउँछिन् । उनका अनुसार परिवारका सदस्यबाटै हिंसामा परेको ६० घटना भइसकेका छन्।
घरेलु हिंसासँगै आत्महत्याको संख्या पनि उत्तिकै बढेको काभ्रे प्रहरीको तथ्याङ्कले देखाएको छ । गत आवमा १३७ घटना भएका थिए, जसमा झुण्डिएर १०७, विष सेवन २८, पुलबाट खोलामा हाम फालेर २ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालबालिका पनि छन् । ७ बालक र १२ बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा छ । ११ वर्षको बालबालिकादेखि ८२ वर्षको वृद्धसम्मले आत्महत्या गरेका छन् । चालु आवको ९ महिनामा ५५ वटा आत्महत्याका घटना भइसकेका छन् । जसमा झुन्डिएर ४६ र विष सेवनबाट ९ जनाले आत्महत्या गरिसकेका छन् । जसमध्ये तीन बालक र तीन बालिका छन् ।
आत्महत्या र घरेलु हिंसाको घटना न्यूनीकरणका लागि स्थानीय सरकार, संघसंस्था र प्रहरीले सामुदायिक प्रहरी साझेदारीअन्र्तगत काम गरिरहेको भए पनि कमि आउन सकेको छैन ।