काठमाडौँ । बारको जीतपुरसिमरा उपमहानगरपालिकाकी प्मुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १६ मंसिरमै अछामको विबनायक पञ्चदेव नगरपालिकामा सरुवा गर्यो ।
उनको सरुवा भएको एक महिना र एक साता बितेको छ । तर काफ्ले बिहीबारसम्म पनि जीतपुरसिरमरा उपमहानगरपालिकाकै कार्यालयमा कार्यरत छिन् ।
लामो समयदेखि संघीय मामिला मन्त्रालयसँग कानुनी र नीतिगत लडाइमा रहेकी काफ्ले सरुवा भएको स्थानमा जान नमानेपछि मन्त्रालयले २ पटक उनलाई सरुवा भएको सथनमा जान ध्यानाकर्षण पत्र पठाइसकेको छ ।
सरकारले सरुवा भएपछि पहिलोपटक पुस १२ मा अछामको बिनायक पञ्चदेवल नगरपालिकामा पुगेर कामकाज सम्हाल्न पत्र पठायो । तर काफ्लेले टेरिनन् । मन्त्रालयले त्यसपछि पुन २२ पुसमा उनलाई सरुवा भएको स्थानमा रमाना हुन पत्र पठायो ।
हेर्नुहोस् मन्त्रालयका रमानासम्वन्धी २ वटै पत्र
पछिल्लो पटक पठाएको रमनापत्र अनुसार पनि उनी अछाम नपुगे विभागीय कारवाही गर्ने सन्देश मन्त्रालयले काफ्लेलाई पठाइसकेको छ । तर काफ्लेले भने जीतपुरसिमरामा अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएको र आफुलाई नियतबस सरुवा गरेको भन्दै सरुवा भएको स्थानमा नजाने आशय व्यक्त गरेकी छन् ।
काफ्लेको यो सन्देश पाएपछि संघीय मामिला मन्त्री राजकुमार गुप्ता स्वयंले काफ्लेमाथि विभागीय कारवाहीका लागि मातहतका कर्मचारी युनिटलाई निर्देशन दिइसकको मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् । मन्त्री स्वयं पनि नियम कानुन र निर्देशन नमान्ने जोसुकै कर्मचारीलाई कारवाही हुने बताउँछन् ।
काफ्ले र मन्त्रालयबीचको द्धन्द्ध भने निकै पुरानो हो । मन्त्रालयले पहिलोपटक गरेको सरुवाविरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा नै दायर गरिन् । अदालतले अन्तरिम आदेश दिएर सरुवा रोक्यो । र जीतपुरमा सरुवा भएर गएका बिरेन्द्रदेव भारतीविरुद्ध पनि उनले मुद्धा दर्ता गरिन् ।
मुद्धा दर्ता गरेपछि संघीय मामिला मन्त्री स्वयंले हस्ताक्षर गरेर काफ्लेको अमेरिका भ्रमणसमेत रद्द गरिदिए ।
भ्रमण रद्द भइसकेपछि दुबै मुद्धामा काफ्लेको पक्षमा अन्तिम फैसला आएन । त्यसपछि मन्त्रालयले १६ मंसिरमा काफ्लेलाई अछामको बिनायक पञ्चदेव नगरपालिकामा सरुवा गरेको थियो ।
उता काफ्लेको पक्षमा लामो समयदेखि लडिरहेका जीतपुरसिमराका मेयर राजन पौडेलले भने आफ्नो सहमति बिना पठाइने कुनै पनि प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन आफु बाध्य नहुने बताउँदै आएका छन् । नगरसभामा बहुमत नहुदा पनि एक चौथाइ सदस्यलाई गणपुरक मानेर नगरसभा गराउन साथ दिएपछि पौडेल काफ्लेको पक्षमा खुल्दै आएका छन् । काफ्लेको सहयोगपनि बहुमत बिनै मेयर पौडेलले चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सभामा पेश गरेर पारित समेत गराएका थिए ।