Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाले नै दिन्छ बर्दिबासका बिपन्नलाई निःशुल्क रगत 

महोत्तरी । बर्दिबास रेडक्रस सोसाइटीका पूर्वसभापति मुकुन्द पौडेल रेडक्रसमा रगत हुँदाहुँदै पनि पैसा तिर्न नसक्ने विरामीहरुको दयनीय अवस्था देखेर निक्कै दुःखी हुन्थे । 

कोही रगतको अभावमा मर्ने त कोही रगत भएर पनि  पैसाको अभावमा मर्ने कारुणिक अवस्था देखिएपछि पौडेलसहित समितिका बर्तमान पदाधिकारीले रेडक्रसमा रगत अभाव त टारे तर पैसा नहुनेले रगत नै नपाउने अवस्था ज्यूँका त्यूँ थियो । 

अहिले बर्दिबास नगरपालिकाले नगरभित्रका नागरिकलाई निःशुल्क रगत प्रदान गर्ने नीति लिएको छ । नगरसभावाट पैसा तिर्न नसक्नेका लागि निःशुल्क रगत उपलव्ध गराउने नीति पारित गरेपछि स्थानीयसँगै रेडक्रसका पदाधिकारी पनि खुसी छन् । 

मेयर प्रल्हाद कुमार क्षेत्रीले सोमवार बर्दिबास–४ स्थित वरडाडाका बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर निःशुल्क रगत हस्तान्तरण गरेपछि यो योजना कार्यान्वयनमा आइसकेको छ । नगरप्रमुख क्षेत्रीले नगरसभावाट पास भएको नीति तथा कार्यक्रममा समावेश गरेको यो नीतिलाई प्राथमिकतामा राखेर औपचारिक कार्यान्वयनको सुरुवात गरेको वताए ।

आर्थिक अवस्था कमजोर भएका विरामीलाई विपन्न राहत कोषवाट रगत प्रदान गरेपनि सबैले यो सुविधा पाउन सकेका छैनन् । रेडक्रससँगको समन्वयमा पालिकाले विपन्नलाई निःशुल्क रगत दिने भएपछि भने अब पैसा तिर्न नसक्ने बिरामीले रगत अभाव खेप्नुपर्ने अवस्था अन्त्य भएको छ । 

रेडक्रस सोसाइटीका सभापति सुदिप कार्कीका अनुसार बर्दिबासमा मात्र अहिले मासिक २ सय भन्दा बढी बिरामी रगतको अभावमा छटपटाइरहेका छन् । यीमध्ये अधिकांशको रगत किन्ने हैसियत छैन । 

कतिपय बिरामीलाई महिनामा ४ पटकसम्म रगत लिन रेडक्रस आउनुपर्ने हुन्छ । एक युनिट रगतको प्रत्येक विरामीले १४ सय रुपैया तिर्नुपर्छ । 

यस्ता छन् बिरामीका दुःख 

बर्दिबास–८ खजुरियाकी अर्पणा लुङगेलीसँग रगतका लागि धेरै संघर्ष गर्नुपरेको अनुभव छ । आन्द्रा फुटेको र मुखवाट अत्याधिक रगत बगेका कारण बर्दिबासस्थित डिएनवी अस्पतालले पटक पटक रगत दिनुपर्ने सुझाए । 

आर्थिक अवस्था कमजोर भएकी लुङ्गेलीले जेनतेन उपचार गराएपनि रगत पाउन सास्ती भोग्नुपर्याे ।

लुङ्गेलीले रेडक्रसवाट विपन्न राहत कोषका माध्यमवाट रगत दिइरहेको थाहा पाइन तर झन्झटिलो प्रक्रियाले उनलाई थप तनाव भयो ।

सम्बन्धित वडावाट आर्थिक अवस्था कमजोर भएको प्रमाणित गराउनेदेखि रेडक्रसलाई रगत प्रदान गर्न दिने सिफारिस लिन नै उनलाई लामो समय लाग्यो । 

पालिकाले नगरवासी भएको प्रमाण मात्र पेश गरेपनि रगत पाउने नीति वनाएको सुनेपछि भने लुङ्गेली निक्कै खुसी छिन् । ‘अब मजस्ता गरिवले निःशुल्क रगतका लागि कागज वनाउन अलमल गर्नु नपर्ने भएछ । खुसी लागेको छ,’ उनी भन्छिन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update