कालीकोट । खाँडाचक्र नगरपालिकामा ६०८ जनाको क्षयरोग परीक्षण गरिएकामा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा २८६ शङ्कास्पद बिरामी फेला परेका थिए ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन भएको थियो ।
शङ्कास्पदमध्ये १८६ बिरामीको पुनः परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । थप १०० शङ्कास्पद बिरामीको पुनःपरीक्षण बाँकी रहेको छ ।
जिल्लामा वार्षिक रूपमा ३०० बिरामीको परीक्षण हुनुपर्नेमा हाल १०० को हाराहारीमा मात्र परीक्षण हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।