काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल नुवाकोट किस्पाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
बिहीबार उनीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहँदा भएको अनियमितताको अनुसन्धानका क्रममा अख्तियारका अनुसन्धान अधिकृतलाई मुद्दा मिलाइदिन भन्दै एक लाख रुपैयाँ घुस दिन खोजेका थिए ।
मेल्लेख गाँउपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उनीमाथि परेको उजुरी उपर आयोगको कार्यालय कञ्चनपूरबाट विस्तृत अनुसन्धान भइरहेको थियो । सोही क्रममा कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई उनले कागजातसहितको खाम दिए । सो खाम खोल्न अनुसन्धान अधिकृतले भने । त्यसपछि उनले बोकेको हरियो रंगको झोलाभित्र रहेको पहेंलो खाममा एक लाख रुपैयाँ रहेको भेटिएपछि ‘यो के को पैसा हो ? भनेर अनुसन्धान अधिकृतले सोधपछि उनले ‘मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो’ भन्ने जवाफ दिएपछि पक्राउ गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए ।
भ्रष्टाचार निवारण ऐनअनुसा उनीविरुद्ध कैद सजायसहित एक लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।