
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयातित पेयपदार्थ सेवनमा रोक लगाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चार टोलमा आयातित पेयपदार्थ सेवनमा रोक लगाइएको हो ।
आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर गरेको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीयले आयातित पेयपदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएका हुन्।
यसअघि बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा आयातित पेयपदार्थ सेवन गर्ने गरिएको थियो । तर, गत असोज २९ गते गैरी फुलेलीमा स्थानीय सुशीला राईको विवाहदेखि आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको स्थानीयले बताएका छन्।
२८ परिवार रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा आयातित पेयपदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो।