
काठमाडौँ । अमेरिकाको भर्जिनियाको च्याान्टिलीमा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ । उनीहरु सवार कार हिउँमा चिप्लिँदै पोखरीमा डुबेपछि कारभित्र रहेका दुवैजनाको बिहीबार बिहान मृत्यु भएको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विन्डहम होटेल नजिकै ती दुई नेपाली चढेको कार हिउँका कारण चिप्लिँदै पोखरीमा खसेको हो । उक्त दुर्घटनामा भर्जिनियाको च्यान्टिली बस्ने ५५ वर्षीय बुटवलका कर्णबहादुर खड्का र काठमाडौँका २१ वर्षीय निश्चल भट्टको निधन भएको हो ।
उनीहरूले चलाएको गाडी पोखरीभित्र खसेपछि उनीहरू निस्कन सकेनन् । जसकारण उनीहरूको निधन भएको प्रहरीको भनाइ छ । उनीहरू खसेको १० मिनेटभित्रै प्रहरीसहितको उद्धार टोली आएर सो गाडी पोखरीबाट निकाल्दासम्म उनीहरूको चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।