दैलेख । दैलेखमा ग्याँस भण्डारण भेटिएको छ । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा ४ हजार १३ मिटर गहिराइमा ग्याँसको भण्डार भेटिएको हो । चीनको सहयोगमा दैलेखको जलजलेमा २०८१ वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङको काम ग्याँसको भण्डार भेटिएपछि सकिएको छ ।
दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४५ रोपनी जग्गा सरकारले अतिक्रमण गरेर अन्वेषणको काम सुरु भएको थियो ।
ग्याँस भण्डारण भेटिनु नेपालमा पनि ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण हुन सक्ने बलियो प्रमाणको रुपमा लिन सकिने खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागका अनुसार उत्पादनका लागि थप काम कसरी अगाडि बढाउन सकिन्छ भनेर अन्वेषण टोलीलाई पत्र पठाइसकेको छ ।
साथै ड्रिलिङका बेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाउने र तीन महिनासम्म स्पष्ट खाकासहितको प्रतिवेदन चीन सरकारको टोलीले दिएपछि अर्को प्रक्रिया सुरु हुने खानी तथा भूगर्भ विभागको भनाइ छ ।
दोस्रो चरणको काम सकिएको र अब तेस्रो चरणमा कति रकम खर्च लाग्छ र त्यसको व्यावसायिक उत्पादन योग्य छ–छैन भन्ने प्रतिवेदन चीन सरकारले नेपाललाई बुझाएपछि थप प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ ।
चीन सरकारको दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको कार्य थालिएको हो । नेपालमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन कार्यमा चीनले सहयोग गर्ने विषयमा दुई देशबीच २०७२ सालमा सहमति भएको थियो ।