Odapalika - The Fourth Estate - चौथो अंग
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका

काठमाडौँ । वैशाख ३०, २०७९ मा नेपाल खबर डटकमले प्रकाशित गरेको एउटा समाचार थियो– इलामको सूर्याेदय नगरपालिका–१० फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङले सगरमाथा आरोहण गरेकी छन् ।

सो समाचारमा उल्लेख भएको सगरमाथा आरोहण गर्ने युवन्तिका तामाङको नागरिकता नम्बर ३५१००१/४५२ हो । तर, यो नागरिकता नम्बर भएको युवन्तिका तामाङको ठेगाना इलामको सूर्याेदय नगरपालिका–१० फिक्कल होइन । यो नम्बरको नागरिकता भएकी युवन्तिका तामाङको ठेगाना साविक कठार गाविस– ९, चितवन हो । 

yubantika-nagarikta-1736492729.jpg
त्यसो भए सगरमाथा आरोहण गर्ने युवन्तिका तामाङ को हुन् त ? उनी सूर्याेदय नगरपालिका–१० फिक्कलकी युवन्तिका राई हुन् । र, उनले युवन्तिका तामाङको नामबाट २०६८, भदौ २८ गते ३५१००१/४५२ नम्बरको नागरिकता प्राप्त गरिन् । झुटो विवरण दिएर नागरिकता प्राप्त गर्नुबाहेक युवन्तिकाको तामाङ थर र चितवनसँग कुनै साइनो छैन । खास साइनो राई थर र इलामसँग नै छ ।

अब सुरु गरौं युवन्तिकाले चितवन जिल्ला अदालतमा दिएको बयान, जहाँ उनले आफ्नो खास परिचय यसरी खुलाउछिन् ।

युवन्तिकाका अनुसार उनका बुवा प्रकाश राई संखुवासभाको साविक दिदिङ्ग गाविस–३ सोबोकमा जन्मेका थिए । प्रकाश सानै छँदा इलाम आए । इलामको फिक्कलमा उनी कृष्णबहादुर तामाङको घरमा बसे । कृष्णबहादुरले नै प्रकाशको विवाह सोमे राईसँग गराइदिए । र, प्रकाश र सोमेका एकमात्र छोरी हुन् युवन्तिका । कृष्णबहादुरले दिएको जग्गामा घर बनाएर प्रकाशको परिवार बस्न लाग्यो । युवन्तिका भने कृष्णबहादुरको घरमा नै बस्ने गर्थिन् ।

yubantika-bayan-1736492780.jpg
जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा युवन्तिकाले दिएको बयान ।

युवन्तिका फिक्कलको मोर्डन बोर्डिङ स्कुलमा पढ्थिन् । २०६६ सालतिर भागेर काठमाडौँ आइन्, जतिबेला उनको उमेर १४/१५ वर्षको थियो ।

काठमाडौँ आएपछि युवन्तिका होटलमा काम गर्न थालिन् । २०६८ सालको कुरा हो– युवन्तिका राई मैतीदेवीको पोटला भन्ने रेष्टुरेन्टमा वेटरको काम गर्दैथिइन् । त्यही समयमा उनको भेट किशोर तामाङसँग हुन्छ । अनि युवन्तिका राई युवन्तिका तामाङ बन्ने बाटोतिर मोडिन्छिन् । र, उनको नाता चितवनको कठार गाविससँग जोडिन्छ । नागरिकता बन्छ । 

किशोर तामाङ मान्छे विदेश पठाउने एजेन्टको रुपमा काम गर्ने व्यक्ति हुन् । उनको घर चितवनको साविकको कठार गाविस–९ हो । 

किशोरले नै युवन्तिकालाई विदेश जाने कुरा गर्छन् । उनले युवन्तिकालाई साइप्रस जाने र कमाई राम्रो हुने कुरा सुनाउँछन् । यसको लागि १ लाख ५० हजार रुपैयाँ लाग्ने भन्छन् । किशोरको कुरामा युवन्तिका सहमत हुन्छिन् । तर, युवन्तिका राईले नागरिकता बनाएको हुँदैन । विदेश जानको लागि पहिला नागरिकता बनाउनु पर्छ । त्यसपछि पासपोर्ट ।

नागरिकता बनाउन युवन्तिका इलाम जान्छिन् । तर, उनका बाबु प्रकाश राईले नै नागरिकता बनाएको हुँदैन । त्यसैकारण युवन्तिकाको नागरिकता बनाउन समस्या देखिन्छ । नागरिकता नबन्ने भएपछि युवन्तिका राई काठमाडौँ आउँछिन् । अनि किशोर तामाङले युवन्तिका राईलाई युवन्तिका तामाङ बनाउने योजना बुन्छन् ।

योजना अनुसार किशोर तामाङ र युवन्तिका राई चितवनको कठार पुग्छन् । किशोरले युवन्तिकालाई आफ्नो बहिनी हो भन्छन्, ५ जना भेला पार्छन् र उनीहरुको सर्जमिन मुचुल्काको आधारमा तत्कालिन गाविस अध्यक्षले युवन्तिकाको नागरिकताको लागि सिफारिस गरिदिन्छन् । 

यहि विवरणका आधारमा युवन्तिकाको २०६८ भदौ २८ गते बंशजको आधारमा नागरिकता बन्छ । अब उनी कानुनी रुपमा नै युवन्तिका तामाङ । नागरिकता नम्बर ३५१००१/४५२ । बाबुको नाम–छविलाल तामाङ । आमाको नाम लक्ष्मीमाया तामाङ । जन्मस्थान– कठार गाविस–९, चितवन । अब किशोर तामाङ उनका दाजु भए । अर्थात किशोर तामाङले आफ्ना बाबुआमालाई युवन्तिकाका बाबुआमा बनाएर बंशजको नागरिकता दिलाए । 

त्यसपछि नागरिकताअनुसार युवन्तिकाको राई थर र इलामसँग नामोनिसान मेटियो ।

यसपछि सुरु हुन्छ युवन्तिका तामाङको छलाङ ।

वैदेशिक रोजगारीबाट फर्केपछि युवन्तिका तामाङ नै भनेर उनी आफूलाई चिनाउछिन् । तर, ठेगाना भने इलामको फिक्कल नै हुन्छ । इलामको फिक्कल भएका कारण उनको भेट संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग हुन्छ । नेम्वाङले युवन्तिकालाई ‘भान्जी’ भनेर चिनाउने गरेका थिए । 

yubantika-subas1-1736492843.jpg
स्व. सुवास नेम्वाङसँग युवन्तिका ।

सुवाससँग निकट बनेपछि युवन्तिकाको तरक्कीको रफ्तार रकेट गतिमा बढ्यो । उनी नेम्वाङको मार्गबाट एमाले अध्यक्ष केपी ओलीसँग निकट भइन् । 

ओलीसँग युवन्तिकाको सम्बन्ध खोल्नुअघि अर्काे एउटा जानकारी राखौं ।

यो जानकारीका लागि १० पुस, २०७८ मा गोरखापत्र अनलाइन डटकममा प्रकाशित एउटा समाचार हेरौं । समाचारमा लेखिएको छ– इलाम सूर्याेदय नगरपालिका–१० की युवन्तिका तामाङ सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ, विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ वर्षीया तामाङले वैशाख महिनामा सगरमाथा आरोहण गर्ने हुनुभएको हो ।

गोरखापत्रको समाचारमा अरु पनि जानकारी समावेश छन् । युवन्तिका इलाइट हिमालय एक्सपिट ट्रेकमार्फत सगरमाथा आरोहणको अभ्यास गरिरहेकी छिन् । उनलाई सगरमाथा आरोहण गर्न ५० लाख रुपैयाँ लाग्छ । त्यो खर्च जुटाउन स्थानीय सूर्याेदय महिला संघ लागेको छ । सूर्याेदय र इलाम नगरपालिकाले २÷२ लाख रुपैयाँका दरले सहयोग गर्ने भएका छन् । इलामका १० वटै स्थानीय तहबाट युवन्तिकालाई सहयोग जुटाउने काम भइरहेको छ । लाग्ने ५० लाख खर्चमध्ये बाहिरबाट ३५ लाख जुटाउने र १५ लाख आफैँले खर्च गर्ने योजना युवन्तिकाले बनाएकी छिन् ।

yubantika-ghar-1736492897.jpg
इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलमा रहेको युवन्तिकाको जन्मघर ।

स्मरणरहोस् युवन्तिकाका बाबुआमा इलामको सूर्याेदय नगरपालिका–१० फिक्कलमा कृष्णबहादुर तामाङले दिएको जग्गामा घर बनाएर बसेका हुन् ।

अर्काे एउटा कुरा पनि स्मरणमा राखौं– युवन्तिका तामाङ इलाइट हिमालय एक्सपिट ट्रेकमार्फत सगरमाथा आरोहणको अभ्यास गरिरहेकी छिन् ।

अब लागौं एमाले अध्यक्ष ओलीसँग युवन्तिकाको निकट सम्बन्धमा बारेमा ।

yubantika-oli-sagarmatha-1736493160.jpg
सगरमाथाको शिखरमा केपी शर्मा ओलीको तस्वीर देखाउँदै युवन्तिका ।

युवन्तिकाको परिचय नेकपा एमालेका तत्कालिन उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङकी ‘भान्जी’ भन्ने पनि थियो । नेम्वाङले युवन्तिकालाई एमाले अध्यक्ष ओलीसँग भेट गराए । र, युवन्तिकाले सगरमाथा आरोहणका क्रममा शिखरमा ओलीको फोटो फहराउने योजना सुनाइन् । आफू पनि एमाले भएकोले युवा संघको झण्डा पनि सगरमाथा शिखरमा फहराउने बताइन् । 

yubantika-oili-subas-1736492935.jpg
केपी शर्मा ओली र सुवास नेम्वाङसँग युवन्तिका ।

ओली सहमत भए । युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।

yubantika-oli-1736493199.jpg
सुवास नेम्वाङको ‘भान्जी’बाट एमाले अध्यक्ष ओलीकी ‘छोरी’ पनि बनेकी युवन्तिका तामाङलाई २०७९ असोज ५ गतेको एउटा दुःखद घटनाले उनलाई फेरि युवन्तिका राई नै बनाउनतर्फ मोड्यो । उनको गोप्य रहेको नागरिकताको विषय छताछुल्ल हुने अवस्था सिर्जना भयो ।

yubantika-oli-1-1736493198.jpg२०७९ असोज ५ गते काठमाडौँको कपनमा भीषण आगलागी भयो । सो आगलागी कपनमा रहेको इलाइट हिमालय एक्सपिट ट्रेकको कार्यालयमा भएको थियो, जुन ट्रेकमार्फत युवन्तिकाले सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

सो आगलागीमा ताप्लेजुङ घर भएका २९ वर्षीय तेन्जिङ शेर्पा, सोलुखुम्बु घर भएका २४ वर्षीय छेवाङ शेर्पा र संखुवासभा घर भएका ३२ वर्षीय अशोक राईको मृत्यु भयो । 

आगलागीमा परेर ज्यान गुमाउनेमध्ये तेन्जिङ शेर्पा सो ट्रेकका साझेदार मिङ्मा डेविड शेर्पाका भाइ हुन् । युवन्तिकाले सगरमाथा आरोहणको अभ्यास पनि इलाइट हिमालय एक्सपिट ट्रेकमार्फत गरेकी थिइन् ।

तेन्जिङ सो ट्रेकमा नै काम गर्थे । उनी पनि आरोही हुन् । युवन्तिकालाई आरोहणको अभ्यासमा तेन्जिङले सघाएका थिए । यही अभ्यासको क्रममा तेन्जिङ र युवन्तिका नजिकिए । तेन्जिङ त आगलागीमा परेर मरे, युवन्तिकाको दाबी मान्ने हो भने तेन्जिङले युवन्तिकासँग विवाह गरेका थिए ।

इलाइट हिमालय एक्सपिट ट्रेक सगरमाथा आरोहणको लागि नेपालको प्रख्यात ट्रेकिङ कम्पनी हो । कीर्तिमानी आरोही निर्मल पुर्जा पनि संलग्न रहेको यो कम्पनी नेपालवाहेकका देशमा पनि काम गर्छ ।

तेन्जिङको मृत्युपछि युवन्तिका आफूलाई उनको श्रीमती दाबी गर्दै मिङ्मासँग सम्पत्ति दाबी गर्न थालिन् । यसको लागि उनले प्रमाण बनाउने कार्य सुरु गरिन् । 

विवाह दर्ताविनै श्रीमती कायम

तेन्जिङसँग विवाह भएको दाबी गरेर युवन्तिका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ पुग्छिन् । किनभने तेन्जिङको स्थायी ठेगाना नै त्यही थियो । सो वडामा उनले ७ कात्तिक, २०७९ मा तेन्जिङसँग नाता प्रमाणितको लागि निवेदन दिन्छिन् । युवन्तिकाको निवेदन अनुसार वडाध्यक्ष पेमा टासी शेर्पाले युवन्तिका र तेन्जिङको नाता प्रमाणित प्रमाणपत्र दिन्छन् । यद्यपि, उनीहरुको विवाह दर्ता भएको हुँदैन । तेन्जिङको निधन भएको ४६ दिनपछि वडाध्यक्ष शेर्पाले युवन्तिका तेन्जिङको श्रीमती रहेको प्रमाणित गरिदिन्छन् । 

nata-pramanit-1736493314.jpg
वडा कार्यालयबाट नाता प्रमाणित प्रमाणपत्र पाएपछि युवन्तिका तेन्जिङका दाजु मिङ्मासँग सम्पत्ति दाबी गर्न थाल्छिन् । इलाइट हिमालय एक्सपिट ट्रेकको कार्यालय टंक घिसिङको घरमा थियो, जुन घर आगलागीका कारण ध्वस्त भयो ।

tenjing-death-certififacte-1736493314.jpg
अब घरभेटी टंक पनि लाग्छन्– मिङ्मासँग बार्गेनिङमा ।

टंक घिसिङ पनि ताप्लेजुङकै हुन् । उनी मेनपावर व्यवसायी हुन् । उनको कम्पनी डाइमण्ड ओभरसिज हो । टंकले पोल्याण्ड पठाउने भन्दै करिब ६ सय जनासँग पैसा उठाए पनि उनीहरुलाई पठाउन सकेका थिएनन् भने पैसा फिर्ता गर्न पनि सकेका थिएनन् । अर्थात टंक घिसिङ आर्थिक संकटमा थिए ।

यही मौकामा घर जलेपछि टंकले मिङ्मासँग ५ करोड मागे । 

तर, घिसिङले सो घर धितो राखेर प्राइम कमर्सियल बैंकबाट ४९ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिने प्रयोजनको लागि सो घरको मूल्यांकन ३ करोड रुपैयाँ कायम भएको थियो । र, बैंकले ऋण दिने क्रममा सो घरको बीमा गर्न भनेको थियो । टंकले घर जलेको भनेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबाट क्षतिपूर्ति लिएको पनि पाइयो ।

prime-bank-1736493397.jpg
अर्थात टंकले घर जलेको भनेर बीमा कम्पनीबाट क्षतिपूर्ति पनि लिए र घरको बीमा भएको छैन भन्दै मिङ्मासँग क्षतिपूर्ति पनि मागिरहे । मिङ्माले रकम नदिएपछि टंकले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले मिङ्माको कम्पनीलाई १ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

beema-chithi-1736493397.jpg
फेरि युवन्तिकाकै कुरा गरौं ।

कपन आगलागीपछि युवन्तिका मिङ्मासँग सम्पत्ति लडाईमा जुटिन् । यस्तैमा युवन्तिका तामाङको बाबु बनाइएका छविलाल तामाङले चितवन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन्छन् । उनले झुटा विवरण दिएर नागरिकता लिएकोले युवन्तिका तामाङलाई पक्राउ गरी कारवाही गरिपाउँ भनेका हुन्छन् । 

yubantika-pakrau-1736493455.jpg
छविलालको निवेदन अनुसार जिल्ला प्रहरी कार्यालय चितवन उनलाई खोज्न लाग्छ । चितवनमा फेला नपरेपछि युवन्तिकालाई खोज्न नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) परिचालन हुन्छ । र, सिआइबीले युवन्तिकालाई १२ माघ, २०७९ मा काठमाडौँको चुनिखेलबाट पक्राउ गर्छ । पक्राउ गरेर उनलाई चितवन पठाइन्छ । र, जिल्ला अदालत चितवनले १० फागुन, २०७९ मा युवन्तिकालाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिन्छ । यद्यपि, युवन्तिकाले झुटो विवरण दिएर नागरिकता लिएको स्वीकार गरेकी छिन् ।

kamal-pathak-1736493480.jpg
कानुन व्यवसायी समेत रहेका एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष पाठक । उनी युवन्तिकाको तर्फबाट बहसपैरवी गरिरहेका छन् । 

युवन्तिकाको वकिल कमल पाठक हुन् । उनी नेकपा एमाले जिल्ला कमिटी चितवनका अध्यक्ष पनि हुन् । र, अनौठो विषय के छ भने युवन्तिकामाथि झुटो विवरण दिएर नागरिकता लिएको अभियोग लागेपनि अहिलेसम्म उनको मुद्दाको पेशी २३ पटक सरिसकेको छ । स्मरण रहोस् युवन्तिकाको वकिल एमाले चितवन जिल्ला कमिटी अध्यक्ष कमल पाठक हुन् ।

23-patak-sareko-1736493505.jpg
यहीबीचमा युवन्तिकाका ‘मामा’ सुवास नेम्वाङको निधन भयो । र, एमाले इलामको राजनीतिक बागडोर संहाल्न आइपुगे सुवास नेम्वाङका छोरा सुहाङ । पछिल्लो समय युवन्तिका सुहाङसँग निकट रहेको देखिन्छ । गत मंसिरमा भएको नेकपा एमाले इलाम जिल्ला अधिवेशनबाट युवन्तिका जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी छिन् । उनी अहिले युवा संघको केन्द्रीय सदस्य र एमाले इलाम जिल्ला कमिटी सदस्य हुन् । 

yubantika-suhang1-1736493546.jpg
सुहाङ नेम्वाङसँग युवन्तिका ।

 

yubantika-suhang2-1736493546.jpg
सुहाङ नेम्वाङसँग युवन्तिका ।

युवन्तिकाले आफूसँग भएको नागरिकता झुटो विवरण दिएर बनाएको स्वीकार गरिसकेको अवस्थामा उनी एमाले इलाम जिल्ला कमिटी सदस्य निर्वाचित भएकी हुन् । उनले झुटो विवरण दिएर बनाएको नागरिकताकै आधारमा सगरमाथा शिखरको आरोहण गरेकी छन् । 

नेपाली शब्दकोषका अनुसार युवन्तिकाको अर्थ सुन्दरता र सदावहार भन्ने हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update