Odapalika - The Fourth Estate - चौथो अंग
१२ सय फिट उकालो चढेर ल्याङल्याङ पुग्यो सुनकोशीको पानी

काठमाडौँ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाभित्रका सुख्खा क्षेत्रमा खानेपानी सुविधा पुगेको छ । जिल्लाकै काकाकुल क्षेत्र भनेर चिनिने भंगेरी, बाबियाखर्क, ल्याङल्याङ, भिरपानी, रातटार जस्ता क्षेत्रमा सुनकोशी नदीको पानी लिफ्टििङ गरेर पुर्याइएको हो ।

खुर्कोटभन्दा केही तल पर्ने हर्दिनी भन्ने स्थानमा ५५ वटा रिङ गाडेर सुनकोशीको पानी रामेछापको ढुकरसिङ डाडामा लिफ्टिङ गरेर पुर्याइएको नगरपालिकाका मेयर लवश्री न्यौपानेले जानकारी दिए । आयोजना करिब सम्पन्न भएकोले अब पानी वितरण कार्य गरिने उनको भनाइ छ ।

‘हर्दिनीबाट लिफ्टिङ गरेको सुनकोशीको पानी ढुकुरसिङ डाडामा पगुेको छ । अब जनताको घरघरमा पुग्छ,’ मेयर न्यौपानेले वडापालिकासँग भने ।

यद्यपि, ढुकरसिङ डाडामा सुनकोशीको पानी पुगेको भने लामै समय भइसक्यो । रामेछाप नगरपालिकाभित्र पर्ने सिमन्टीटारका स्थानीयले भने विगत ५ महिनादेखि सोही आयोजनाको पानी उपभोग गरिरहेको सो आयोजना निर्माण समितिका संयोजक गौतम श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश सरकारको सुख्खा क्षेत्र सिंचाई कार्यक्रम अन्तरगत सो नगरपालिकाका पानी लिफ्टिङ आयोजना सम्पन्न हुन लागेको हो । यसका लागि प्रदेश सरकारको करिब २२ करोड रुपैयाँ लगानी छ । 

पानी ढुकरसिङ डाडामा पुगिसकेकोले अब सम्बन्धित गाउँका ट्यांकीमा पानी हालेर वितरण थालिने श्रेष्ठले जानकारी दिए ।

‘बाबियाखर्कको लागि बाबियाखर्कको ट्यांकीमा, भंगेरीको लागि भंगेरीको ट्यांकीमा, भिरपानीको लागि भिरपानीको ट्यांकीमा र ल्याङल्याङको लागि ल्याङल्याङको ट्यांकीमा पानी हाल्ने हो । त्यसपछि सम्बन्धी गाउँका पाइपहरु मार्फत उपभोक्ताको घरघरमा पानी पुग्छ,’ संयोजक श्रेष्ठले भने ।

सो १२ सय फिटको दुरीमा ५ वटा लिफ्ट राखिएको छ । हर्दिनीबाट आएको पानी पहिलो लिफ्टमा आउँछ, त्यसपछि अर्काे ठाउँमा जम्मा हुँदै ढुकुरसिङ डाडासम्म पुग्छ । ढुकरसिङ डाडाबाट भने उपभोक्ताको लागि पानी वितरण हुन्छ । प्रत्येक ५ ठाउँमा २/२ वटाका दरले १० वटा मोटरले सुनकोशीको पानी तानेर ढुकरसिङ डाडामा पुर्याउने गरेका छन् । यसका लागि २५ केभीएका १० वटा मोटर प्रयोग भएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update