कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने भएको छ ।
आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो ।
विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएकाे छ । खोप कार्यक्रम सञ्चालनका लागि पुस २१ देखि २९ गतेसम्म जिल्लाका १०२ स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ ।
यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम छ ।