रुपन्देही । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनमा रविसँग ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबीसहित मुद्दा चलाउन उल्लेख गरिएको छ । यसैगरी, जोशीलाई ४ कोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको स्रोतको भनाई छ ।
उक्त प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलको कार्यालयले रुपन्देही जिल्ला अदालतमा अभियोजन दर्ता गर्नेछ ।
यसअघि सुप्रिम सहकारीको रकम ठगीको सम्बन्धमा गएको वैशाख ३ गते १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबीसहित २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।