भक्तपुर । भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिब २९ प्रतिशत बजेट खर्च गरेको दाबी गरेको छ ।
भक्तपुर नगरपालिकाको १७औँ नगरसभामा मेयर सुनिल प्रजापतिले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटको २९.२९ प्रतिशत खर्च गरेको जानकारी दिएका हुन् । उनका अनुसार कुल विनियोजित बजेट २ अर्ब ६६ करोड ४३ लाख १० हजार रुपैयामध्ये ६ महिनामा ७८ करोड ६ लाख रुपैयाँ बजेट खर्च भएको हो ।
नगरपालिकाले यस आर्थिक वर्षमा चालु खर्च शीर्षकमा १ अर्ब ५७ करोड ३ लाख रुपैया विनियोजन गरिएकोमा २०८१ पुस २४ गतेसम्म ५५ करोड २५ लाख खर्च भई विनियोजित बजेटको ३५.१८ प्रतिशत खर्च भएको जनाएको छ ।
साथै पुँजीगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैया विनियोजन भएकोमा सोही अवधिमा २० करोड ३७ लाख रुपैया खर्च भएको जनाइएको छ । जुन विनियोजित बजेटको २०.४९ प्रतिशत हो ।
नगरपालिकाले यस आर्थिक वर्षमा ६५ करोड ८३ लाख रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी हुने लक्ष्य राखेकोमा ६ महिनाको अवधिमा २५ करोड ४० लाख आम्दानी भई अनुमानको ३८.६० प्रतिशत प्रगति भएको प्रमुख प्रजापतिले बताए ।
बाह्य स्रोतबाट १ अर्ब ८० करोड २२ लाख आम्दानी हुने लक्ष्य राखेकोमा ६२ करोड ७१ लाख प्राप्त भई ३४.८० प्रतिशत प्रगति भएको दाबी गरिएको छ ।