भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।
शुक्रबार नगरपालिकाको १६औँ अधिवेशनमा चालु आर्थिक वर्षको ६ महिनामा १६.३७ प्रतिशत बजेट खर्च गरेको जानकारी दिइएको हो ।
मेयर जीवन खत्रीले दुई महिना बर्खा, त्यसपछि चाडपर्वजस्ता कारणले आर्थिक वर्षको हालसम्ममा लक्ष्यअनुरुप प्रगति हासिल गर्न नसकेको स्वीकार गरेका छन् । उनले बाँकी ७ महिनालाई लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप कार्यक्रम अगाडि बढाउने तय भएको जानकारी दिए ।
चालु आर्थिक वर्षको कुल बजेट २ अर्ब १२ करोड ३० लाख ९३ हजार ६०० रुपैयाँ रहेकोमा हालसम्ममा ३४ करोड ७७ लाख ३० हजार रुपैयाँ खर्च भएको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।
नगरपालिकाको चालु खर्चतर्फ ९३ करोड ७६ लाख २१ हजार ५०० रुपैयाँ विनियोजित भएकोमा हालसम्म ७ करोड १६ लाख ५५ हजार ३०० रुपैयाँ र पुँजीगततर्फ १ अर्ब १८ करोड ५४ लाख ७२ हजार रुपैयाँ विनोयोजित ७ करोड ६० लाख ७५ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।