Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत 

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि मेयर बालेनले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउन मन्त्रालयलाई पत्र लेखेका हुन् । 

यही पुस २४ गते चलानी नम्बर ४५० रहेको मेयर बालेनले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘प्रस्तुत विषयमा काठमाडौं महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ वमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ ।’ 

काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपु¥याई पास गरेको भन्दै प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ । छानबिन समिति बनेपछि उनी बिदामा बसे । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिदामा बसेपछि गोविन्दप्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । तर, उनले पनि राजीनामा दिएपछि अहिले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update