Odapalika - The Fourth Estate - चौथो अंग
नेम्वाङको योगदान सम्झिएर रोइरहेकाे छ इलाम नगरपालिकाको सुन्तालवारी 

इलाम । इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका  संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि इलामसहित देश नै शोकमग्न छ । अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे ।

नेम्वाङको छिमेकीसमेत श्रेष्ठले भने, ‘हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।’

अब फेरि देशले उनीजस्तो अर्कोे सुवासचन्द्र पाउन मुश्किल हुने उनी बताउँछन् । ‘उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान गर्नुनुभएको छ,’ नेम्वाङलाई सम्झदै श्रेष्ठ भन्छन् । 

इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब ६ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको स्थानीय सम्झन्छन् ।

यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्वपूर्ण योगदान रहेको स्थानीय बताउँछन् । 

नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ । नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उनले सुनाइन् । 

टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवाका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका थियो । 

सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भने, ‘उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा ग¥यो भने ऊ रुन्थ्यो । झगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।’ गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्छन्, ‘आशीर्वाद चाहियो भन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।’

इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २८ फागुन, २००९ सालमा जनिमएका नेम्वाङले आफ्नो बाल्यकाल यही बिताए । बुवा न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र कानुनमा स्नातक अध्ययन गरे ।

इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ । यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ । 

२०७९ सालको निर्वाचनमा नेम्वाङ ३० वर्षदेखिको विरासत जोगाउँदै ११४ मतान्तरले विजयी भए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए । 

नेम्वाङले निर्वाचन जितेको इलाम क्षेत्र नं २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका र माई नगरपालिकाका वडा ६, ७, ८ पर्छन् ।  

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update