काठमाडौँ । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव कायम रहदा तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।