
काठमाडौँ । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ ।
आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्बिरहरूले यो विपत्ति कति ठूलो छ भन्ने स्पष्ट बुझ्न सकिन्छ ।
सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूखहरु ढलेका छन् ।
लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको चादरले ढाकिएको छ ।
आगलागीमा परी अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको पुष्टि गर्दै प्रशासनले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ ।
लस एन्जलसका सयौँ भवनहरु ध्वस्त भएका छन् भने दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
आगो निभाउन हजारौं अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । यद्यपी धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ । मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञहरुले आशङ्का व्यक्त गरेका छन् ।
क्यानडा सरकार संयुक्त राज्य अमेरिकालाई सहयोग गर्न अगाडि आएको छ । क्यानडाले आगो निभाउन अग्निनियन्त्रकका अतिरिक्त विशेष उपकरणहरू पठाउँदैछ ।
अन्य ६० हजार भवन जोखिममा परेका छन् । आगलागी र डढेलोका कारण व्यापक क्षति पुगेकोले बिमाअन्तर्गत कभर गरिने कुल सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।
लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । यीमध्ये अधिकांश मानिसहरूले आफूले बोक्न सक्ने सामान लिएर आफ्नो घर छोडेका थिए ।