Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ?
फाइल तस्बिर

काठमाडौँ । सहकारीको रकम ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । 

गत बिहीबार कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीसहितको अभियोगमा ६५ लाख धरौटी बुझाएर रिहा भएका उनी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । शुक्रबार नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भनिए पनि आइतबारमात्र अदालत गएका हुन् । 

कालीमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ । सोही कारण उनी बयान दिन अदालतमा उपस्थित भएका हुन् । 

अब के हुन्छ ?

स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेले आइतबार काठमाडौँ जिल्ला अदालतमा बयान दिनेछन् । बयानपछि थुनछेक बहस हुनेछ । वादी र प्रतिवादी दुवै पक्षको बहस भइसकेपछि मात्र रविलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश अदालतले दिनेछ । 

आइतबार यी सबै प्रक्रिया पूरा नभएमा अदालतले आदेश नआउँदासम्मका लागि उनलाई न्यायिक हिरासतमा राख्न अनुमति दिनेछ । साथै, अदालतमा आफैँ उपस्थित हुने शर्तमा कसैको जिम्मामा छोड्न पनि सक्ने कानुन व्यवसायीको भनाइ छ । 

तर, रविका कानुन व्यवसायीहरु भने आइतबार बयान र थुनछेक बहस सकेर अदालतको आदेश आउने गरी तयारी गरिरहेका छन् ।  
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update