Odapalika - The Fourth Estate - चौथो अंग
ढोरपाटनका मेयर नेपालीले गरे ५४७ जना सहकारी पीडितसँग मेलमिलाप, कहाँबाट तिरे २४ करोड ?

काठमाडौँ । बाग्लुङ्को ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले ५४७ जना सहकारी पीडितसँग मेलमिलाप गरेका छन् ।

आफूहरुको रकम ठगेको भन्दै अदालतमा मुद्दा दायर गरेका पीडितमध्ये ५ सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरे । आफूहरुले रकम पाएको भन्दै जिल्ला अदालत बागलुङलाई जानकारी गराएपछि अदालतले मेलमिलापको लागि आदेश दिएको थियो ।

ठगी मुद्दामा नेपालीलाई विपक्षी बनाएका जाहेरवालामध्ये पाँच सय ४७ जना बचतकर्ताले यो मेलमिलापपछि मुद्दा फिर्ता लिनेछन् । उनीहरुको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० रुपैयाँ बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेका हुन् ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले आंशिक मेलमिलाप भएको आदेश दिएको हो । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेतले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ ।

केही पीडितले मेलमिलाप गरेपनि नेपालीविरुद्धको ठगी मुद्दा भने यथावत रहनेछ । उनी हाल पुर्पक्षका लागि जिल्ला कारागारमा छन् । गत असोज १५ गते जिल्ला अदालत बागलुङको आदेशले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । एक हजार ५ सय ७३ जनाले नेपालीसहित सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दायर गरेका थिए ।

मेयर नेपाली २०८० को जेठ ४ गतेदेखि फरार थिए । गत वैशाख ६ गते इमेज बचत तथा ऋण सहकारीको कार्यालयमा तरलता अभाव भएकाले कार्यालय बन्द भएको सूचना टाँस गरेपछि बचतकर्ताहरुले आफ्नो रकम ठगी भएको उल्लेख गर्दै जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकायको दैलो गुहारेका थिए । पीडितको जाहेरी सङ्कलन गरी जिल्ला प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते नेपालीविरुद्ध मुद्दा दायर गरेको थियो । विसं २०८० माघमा नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो ।

भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएपछि नेपाली जिल्ला अदालत बागलुङमा हाजिर भएका थिए । यो मुद्दामा सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, नरमति बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पुर्पक्षमा छन् भने सोही मुद्दामा ओमप्रसाद दर्जी भने धरौटीमा छुटेका छन् ।

मेयर नेपाली नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर ढोरपाटन नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update