रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भई आएका दुईवटा विधेयक उनले प्रमाणीकरण गरेका हुन् ।
आइतबार प्रदेश निजामती ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका प्रदेश प्रमुख घर्तीले सोमबार स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
यही पुस १७ गते प्रदेशसभाले पारित गरेर स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको थियो ।
‘...प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूले लुम्बिनी प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको स्थानीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आइतबार प्रमुख घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । यसअघि उनले सो विधेयक प्रदेशसभामा विचार गर्न भन्दै सन्देशसहित फिर्ता पठाएका थिए । तर, यहीे प्रदेशसभाले उक्त विधेयक पुनः पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएको थियो ।
नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए ।