Odapalika - The Fourth Estate - चौथो अंग
भारतीय विदेशमन्त्रीको एक प्रश्न, जसको परराष्ट्रमन्त्री आरजुले जवाफ दिन सकिनन्

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलनको लागि नेपालले पहल गरेको बताएकी छन् । 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सोमबारको बैठकमा उनले सार्कको शिखर सम्मेलनका लागि पहल गरेको भए पनि भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण हुन नसकेको जानकारी गराइन् । 

भारत भ्रमणमा जाँदा त्यहाँका समकक्षी एस जयशंकरसँग शिखर सम्मेलन गर्ने प्रस्ताव गरेको जानकारी दिँदै उनले समकक्षीको जवाफपछि आफू बोल्न नसकेको बताइन् । 

गत सेप्टेम्बरमा भारत भ्रमण गर्दा आफू भारतीय विदेशमन्त्री जयशंकरसँगसार्क शिखर सम्मेलन गर्ने प्रस्ताव राखेको जानकारी दिँदै उनले भनिन्, ‘मेरो प्रस्तावमा जयशंकरजीले भन्नुभयो–तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ?’ 

जयशंकरको जवाफपछि आफूले कुनै पनि जवाफ दिन नसकेको भन्दै मन्त्री राणाले भनिन्, ‘त्यसपछि मैले त केही भन्नै सकिनँ । दुई देशबीचको कुरा थियो ।’

सन् २०१४ को नोभेम्बर २६–२७ मा काठमाडौंमा सार्कको १८औँ शिखर सम्मेलन भएपछि नेपाल सार्कको अध्यक्ष रहँदै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update