काठमाडौँ । स्थानीय तहमा एकैपटक प्रमुख र उपप्रमुख नहुँदा ताेकिने कार्यवाहककाे विवाद अन्त्य भएको छ । सरकारको सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्ने गरी जारी भएको अध्यादेशले स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पद एकै पटक रिक्त भएमा कार्यवाहक तोक्ने व्यवस्था गरेको छ ।
यो व्यवस्था नहुँदा ललितपुरको गोदावरी, सर्लाहीको बागमती र महोत्तरीको जलेश्वर नगरपालिकामा एकै पटक प्रमुख र उपप्रमुख दुवै पद रिक्त हुँदा सेवा प्रवाह प्रभावित भएको थियो । तर, समस्या समाधान हुनेगरी अध्यादेश जारी भएको हो ।
अध्यादेशमा पालिका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष एकै पटक रिक्त भएमा कार्यपालिका सदस्यले तत्काललाई आफूहरूमध्येबाट कार्यवाहक तोक्न सक्ने व्यवस्था गरिएको हो ।
यसअघि स्थानीय सरकार सञ्चालन ऐनमा उपाध्यक्ष वा उपप्रमुखले अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा कार्यभार सम्हाल्ने व्यवस्था थियो । तर, अध्यक्ष वा प्रमुखसहित उपाध्यक्ष वा उपप्रमुख दुवै पद रिक्त भए कार्यवाहक जिम्मेवारी कसले पाउने भन्ने स्पष्ट रुपमा कानुनी व्यवस्था नहुँदा समस्या हुँदै आएको थियो ।