Odapalika - The Fourth Estate - चौथो अंग
जब वडा अध्यक्षले नै राजपत्र निकाले...

काठमाडाैँ । स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो क्षेत्रको विकास गर्ने हुटहुटी त हुन्छ नै साथसाथै प्रशासनिक र कानुनी अधिकार प्रयोग गर्ने चाहना पनि उत्कट हुने रहेछ । 

अधिकार हुनेले त कानुन निर्माण गर्न सक्ने नै नभए, अधिकार नभएकाहरुसमेत यतिवेला स्थानीय तहमा कानुन बनाउन लागिपरेका छन् । 

सन्दर्भ हो, कञ्चनपुरको पुर्नवास नगरपालिकाको । वडा नम्बर ९ का वडा अध्यक्ष छन् नरबहादुर विक । उनले आफ्नो वडामा मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि नियम बनाए ।

रमाइलो के छ भने आफुले बनाएको नियमलाई उनले रापत्रमा प्रकाशन गरे । यो राजपत्र यतिवेला पुर्नवासमा मात्र नभइ जिल्ला भर चर्चाको विषय बनेको छ । 

वडाध्यक्षले वडाभित्र मदिरा नियन्त्रण गर्न नियम बनाएर जारी गर्ने बिचार गरे । नियम बनाएपछि उनलाई राजपत्रमा छाप्न मन लाग्यो  । र २४ भदौमा उनले आफ्नै हस्ताक्षर र छाप प्रयोग गरेर स्थानीय राजपत्र प्रकाशन गरे । उनले यसलाई स्थानीय वडा राजपत्र भनेका छन् । 

हेर्नुहोस् वडा राजपत्र 

rajpatra1694596165.jpg

स्थानीय कार्यपालिका र सभालाई मात्र कानुन र नीति बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले दिएको छ । तर वडाअध्यक्षले भने वडाले बनाउने नियमलाई नै राजपत्रमा प्रकाशन गरिदिएका छन् । 

खण्ड १ र संख्या १ उल्लेख भएको राजपत्र प्रकाशन भएपनि यसको कानुनी बैधता भने छैन । 

वडाअध्यक्षले राम्रो काम गर्न खोजेपनि प्रक्रिया नजान्दा गल्ती भएको बताउँछन् पुर्नवास नगरपालिकाका मेयर तोयप्रसाद शर्मा । 

वडापालिकाको जिज्ञसामा उनले भने, ‘उहाँ राम्रो काम गर्न खोज्ने मान्छे हो । वडाले कानुन बनाउन पाउँदैन, नियम बनाउने अधिकार छ तर यस्तो नियम राजपत्रमा प्रकाशन गर्न पर्दैन र राजपत्रमा प्रकाशन गर्ने अधिकार वडाअध्यक्षलाई हुँदैन भन्ने उहाँलाई थाहा नभएर गल्ती भएको हो ।’

यस विषयमा वुझ्न वडाध्यक्ष सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । मेयर भने उनी वडा कार्यालयमै रहेको बताउँछन् । उनको वडाका एकजना वडा सदस्यले भने यस विषयमा वडाध्यक्षलाई नै सोध्नुपर्ने जवाफ दिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update