Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प स्मृतिसभा : रैथाने निर्माण सामग्री र विधि उपयुक्त थियो कि भन्ने बहसमा गम्भीर हुनुपर्छ– उपमेयर डंगोल 

काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित बुधबार काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७औँ भूकम्प स्मृतिसभा गरिएको छ । १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जोडिएको छ ।

विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो । 

स्मृतिसभालाई सम्बोधन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनु पर्छ । नागरिकको आँगनको सरकारले यो काम गर्छन् । संघ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्छ । यसकोणबाट सबै तहका सरकारको समान भूमिका छ ।’ 

महानगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा उल्लेख गर्दै उनले भनिन्, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुनर्लाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौँ । स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ ।’

विपदमा संरचनागत जोखिमका सन्दर्भमा कुरा गर्दै उनले आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको वहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनुपर्ने बताइन् ।  

कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले १९९० सालको भूकम्पपछिको पुनःस्थापनाको विषयमा धारणा राख्दै भने, ‘त्यस बेला कुटनीतिक क्षेत्रबाट व्यवस्थापनका लागि सहयोग के चाहिन्छ भनेर सोद्धा सरकारबाट जवाफमा हामी लिन जन्मेका होइनौँ । दिन जन्मेका हौँ । हामीलाई हाम्रा नागरिकमाथि भरोसा छ । नागरिककै क्षमताले पुनःस्थापना हुन्छ, भनिएको थियो । सुन्दा सामान्य लागे पनि यो भनाइ मननीय छ ।’

भवन संहिताको कडाइका साथ पालनासँगै निर्माण सामग्री उपयोगका विषयमा पुनर्विचार गर्नुपर्ने भुसालको भनाइ थियो । ‘भूकम्पजस्ता विपदको क्षति सम्झना गर्नेभन्दा यस प्रकारका क्षति हुन नदिने प्रणालीमा काम गर्नु पर्ने बेला आएको छ ।’ कार्यक्रममा महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने, ‘प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवर्धन गरौँ ।’ 

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी भए । 

विगतका भूकम्पले मानव समाज, भौतिक संरचना र सम्पत्ति तथा वातावरणीय सन्तुलनमा पु¥याएको प्रतिकुल असरको लेखाजोखा गरेर विपदका समयमा सकेसम्म सुरक्षित बनाउन, जुझारु उत्थानशील सहरका रुपमा रुपान्तरण गर्न संकल्प चाहिएको छ । स्मृति सभामा जोड दिइएको थियो । 

काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन ऐन जारी गरिसकेको छ । यसले पूर्वतयारी, प्रतिकार्य र पुनःलाभका लागि काम गर्ने दिशा निर्देश गरेको छ ।  

गएको वर्ष ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नारा राखिएको थियो । २०७९ सालमा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ २०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’, ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित दिवसका कार्यक्रम मनाइएका थिए । 

विश्वमान चित्रमा भूकम्पजन्य विपदका दृष्टिले नेपाल ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, २०७२ सालमा पश्चिम, २०८० सालमा मध्य पश्चिमका रुकुम पश्चिम र जाजरकोट केन्द्रविन्दु भएका भूकम्पले ठूलो जनधनको क्षति गरेका छन् ।  

स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने प्रहरीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । 

यसरी सम्मानित हुनु हुनेमा नगर प्रहरी सहायक निरीक्षक बसन्तकुमार श्रेष्ठ, नगर प्रहरी हवल्दार सुरेश कार्की, सहायक अग्नि नियन्त्रक शिववहादुर कार्की छन् । 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update