काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको बैठक बोलाएका छन् ।
बुढानीलकण्ठस्थित आफ्नै निवासमा बिहीबार बस्नेगरी देउवाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुको बैठक बोलाएका हुन् । कांग्रेसबाट सरकारमा १० मन्त्री र २ राज्यमन्त्री सहभागी छन् ।
सत्तारुढ गठबन्धन आवद्ध एमाले र कांग्रेसबीच दूरी बढेको भनिएका बेला सभापति देउवाले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुको बैठक बोलाएका हुन् ।
एमाले र कांग्रेसबीच दूरी बढेको हल्लालाई चिर्दै सभापति देउवाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने बेला भइनसकेको आफ्ना नेताहरुलाई बताएका थिए ।
बिहीबारका लागि बोलाइएको मन्त्रीहरु बैठक सरकारबाट बाहिरिन नभई सरकारका काम प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।
संसदीय दलको कार्यसमिति र मन्त्रीबीच अन्तरक्रियाका लागि बोलाइएको बैठकमा अब बस्ने संसदमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।