काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् ।
प्रतिवादी रवि पक्षका वकिलको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहसु गरेका हुन् । रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गर्दै रविलाई रिहा गर्नुपर्ने बताएका छन् । रविकै तर्फका अधिवक्ता राजेन्द्र सेढाइँले बहस नोट मात्र बुझाए ।
यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए ।
कास्की जिल्ला अदालतको आदेशपछि गत बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा भएका रवि आइतबारदेखि काठमाडौँ प्रहरीको न्यायिक हिरासतमा छन् ।
अदालतले भइरहेको जवाफी बहस सकिएपछि प्रतिवादी रविलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा रिहा गर्ने आदेश दिनेछ ।