काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकाले आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ । बुधबार सार्वजनिक सूचना निकालेर आमाबुबाको संरक्षणबाट बन्चित १८ वर्षमुनि बालबालिकाको संरक्षण गर्ने, स्याहार गर्ने व्यक्तिले १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।
‘महालक्ष्मी नगरपालिकाको आ.ब. ०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमअन्तर्गत आमाबाबु दुवैको मृत्यु भएको वा दुवै बेपत्ता भएको वा दुबैको संरक्षण र रेखदेखबाट वञ्चित भइ अरुको संरक्षणमा रहेका १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितता गरी सामाजिक संरक्षणका लागि भत्ता प्राप्त गर्न योग्य बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले यस नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपशिलको कागजात सहित आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।
यसका लागि विभिन्न कागजात बुझाउनुपर्ने शर्त रहेको नगरपालिकाले जनाएको छ ।
आवश्यक कागजात :
– जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि÷नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि ।
– आमा र बाबु दुवैको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि वा आमा बावु दुवै बेपत्ता भएको वा आमाबाबु दुवैको संरक्षण र रेखदेखबाट वञ्चितिमा परेको सम्बन्धित वडाबाट भएको प्रमाणितपत्र ।
–विधालयमा भर्ना भइ नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र (५ वर्ष उमेर पूरा गरेका बालबालिकाको हकमा मात्र) ।
– संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।