
दैलेख । नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आएको प्राविधिक टोलीले प्राप्त नमुना लिएर चीन फर्किएको छ । दैलेखको भैरवी गाउँपालिका–१ मा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङका क्रममा प्राप्त नमुना लिएर टोली चीन फर्किएको हो । अन्वेषणको काम सकिएपछि टोली नमुना लिएर चीन फर्किएको हो ।
गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङबाट प्राप्त भएको नमुना एक ट्रकमा राखेर चीन फर्किएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
४ हजार १३ मिटर गहिराइसम्म गरेको ड्रिलिङबाट प्राप्त नमुना लिएर चीनको प्राविधिक टोली फर्किएको हो । ट्रकमा राखेर पदार्थको नमुनालाई तातोपानी नाका हुँदै चीन लैजान अन्वेषण स्थल जलजलेबाट हिँडिसकेको छ ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेको र अन्य सबै चीन फर्किएको छ ।
गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङ असोज मसान्तसम्म सक्ने पेट्रोलियम अन्वेषण परियोजनाको लक्ष्य राखिएको भए पनि जमिनमुनि कडा चट्टान भेटिएका कारण पुससम्म लम्बिएको थियो ।
ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चीन सरकारसँग सन् २०१९ फेबु्रअरी २८ मा सम्झौता भएको थियो । सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन ।
चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।