काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम कारबाहीबारे आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग जानकारी लिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी छन् । सरकारको काम प्रभावकारी नभएको गुनासो आइरहेका बेला बुढानीलकण्ठस्थित आफ्नै निवासमा मन्त्रीहरुलाई बोलाएर सभापति देउवाले सरकारको कामकाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका हुन् ।
हालै सरकारले पाँच अध्यादेश जारी गर्ने निर्णयपछि एमाले–कांग्रेसमा दूरी बढेको चर्चालाई खण्डन हुने गरी सभापति देउवाले हप्ताको पाँच दिन मन्त्रालयमा बसेर प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् ।
संसदीय दलको कार्यसमितिसँग मन्त्रीहरूको छलफलपछि सभापति देउवाले पाँच दिन पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
उनका अनुसार साताको दुई दिन खुला भेटघाट गर्न पनि निर्देशन दिइएको छ । ‘पार्टी अफिस गएर हप्तामा दुई दिन आलोपालो गरेर कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रीत हुन मन्त्रीहरुलाई निर्देशन दिइएको छ,’ उनले भने ।
साथै बैठकले सरकारलाई सफल बनाउन सक्रिय हुने र नियमित छलफल गर्ने निर्णय समेत गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।