Odapalika - The Fourth Estate - चौथो अंग
दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितताको आशंका, संसदीय समितिमा उजुरी 
फाइल तस्बिर

काठमाडौँ । संसदीय समितिमा रौतहटको दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै परेको उजुरी वितरण गरिएको छ । 

स्थानीय लालबाबु महतोले दिएको उजुरीमा दुर्गाभगवती गाउँपालिकामा भइरहेको आर्थिक अनियमितता र भ्रष्टाचारबारे छानबिन गरेर संलग्नमाथि कारबाही गर्न माग गरेका छन् । 

महतोले गाउँपालिका कार्यालय र वडा नम्बर ३ को कार्यालयले विभिन्न गैरकानुनी कार्य गरेको, व्यापक अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको दाबी गर्दै संलग्नमाथि कारबाही गर्न माग गरिएको छ । उनले सामाजिक सुरक्षाभत्ता वितरण, शिक्षक नियुक्ति, विकास निर्माणको टेन्डर प्रक्रियालगायतमा आर्थिक अनियमितता भएको उजुरीमा उल्लेख गरेका छन् ।

यसअघि आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीको सुनुवाइ नभएको उनले उजुरीमा उल्लेख गरेका छन् । आफू भ्रष्टाचार र अनियमितताविरुद्ध उत्रिएपछि विभिन्न धाकधम्की आउने गरेकोले असुरक्षाको अवस्था सिर्जना भएको भन्दै महतोले स्थानीय तहका सम्बन्धित व्यक्तिलाई झिकाएर आवश्यक छानबिन गरी कारबाही गर्न माग गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update