Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमि नगरपालिकाले ६ महिनामा कमायो १४ करोड, कुन महिना कति?  

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट १४ करोड २८ लाख १९ हजार ६२० रुपैयाँ सङ्कलन गरेको हो ।

पालिकाको कूल वार्षिक राजस्व सङ्कलन लक्ष्यको ३९ दशमलव ३६ प्रतिशत हो । यहाँ चालु आवमा  ३६ करोड २८ लाख सात हजार रुपैयाँ आन्तरिक स्रोतबाट राजस्व सङ्कलन गर्ने लक्ष्य छ । 

उपप्रमुख विजयकृष्ण श्रेष्ठले गत आर्थिक वर्षको तुलनामा यस वर्ष नक्सा पास कम भएकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जानकारी दिए । गत वर्ष नगरपालिकाले घर नक्साको अभिलेखीकरण खुलाएको थियो । 

यस वर्ष घर नक्सा पासमा राजस्व सङ्कलनमा कमी आए पनि व्यवसाय, घरबहाल र विज्ञापन कर शीर्षकमा राजस्व वृद्धि भएको छ । 

नगरपालिकाले चालु आवको पहिलो ६ महिनामा सबैभन्दा धेरै असोजमा ३ करोड ६० लाख ५६ हजार ३७, साउनमा ३ करोड २७ लाख ८५ हजार ४५२ र भदौमा २ करोड ४३ लाख ५३ हजार ४७३ रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो ।

यसैगरी कात्तिकमा १ करोड ९८ लाख १२ हजार ३६६, मङ्सिरमा २ करोड ८ लाख १६ हजार १७४ र पुसमा सबैभन्दा कम ९४ लाख १७ हजार ९८१ राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update